एक इन्जिनियरले ‘क्यामरा फ्ल्याश गन’ डेस्कमा राखिएको सानो सर्किट बोर्डतिर लक्षित गरे। उपकरण चल्नेबित्तिकै कोठा उज्यालोले चम्कियो, र त्यही क्षणमा त्यहाँ रहेको कम्प्युटर अचानक बन्द भयो।
यो घटनाले ‘राज्बरी पाइ’ समूहका इन्जिनियरहरूलाई चकित बनायो। उनीहरूले विद्यालय र विद्युतीय सामग्रीका पारखीहरूका लागि विकास गरेको सस्तो कम्प्युटरमा यस्तो समस्या देखिएपछि अनुसन्धान गर्दा कारण पत्ता लाग्यो—जेनन फ्ल्याश ल्याम्पको प्रकाशले कम्प्युटरभित्रको एउटा चिपमा ‘फोटोइलेक्ट्रिक इफेक्ट’ उत्पन्न गरी बिग्रिएको रहेछ।
राज्बरी पाइका संस्थापक एबन अप्टनका अनुसार प्रकाशले इलेक्ट्रनहरू निष्काशन गर्दा सर्किटमा अनपेक्षित विद्युत् उत्पन्न भई कम्प्युटर अस्थिर बनेको हो। “त्यो क्षण हामी अचम्ममा पर्यौं, तर रमाइलो पनि लाग्यो,” उनले भने।
सन् २०१५ मा बजारमा आएको ‘राज्बरी पाइ २’ मा देखिएको यो समस्या पछि समाधान गर्न कम्पनीले नयाँ संस्करणमा उक्त चिपलाई कालो सुरक्षात्मक आवरणले ढाक्यो, जसले प्रकाश छिर्न नदिने काम गर्छ।
रोचक कुरा के भने—यो घटना ठीक सय वर्षअघि अल्बर्ट आइन्स्टाइनले व्याख्या गरेको ‘फोटोइलेक्ट्रिक इफेक्ट’को वास्तविक उदाहरण बनेको हो। आइन्स्टाइनले सन् १९०५ मा प्रकाशित आफ्नो प्रसिद्ध शोधपत्रमा यस प्रभावबारे पहिलोपटक व्याख्या गरेका थिए र यही खोजका लागि उनले सन् १९२१ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए।









प्रतिक्रिया