नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले औपचारिक रूपमा लेखा तथा वित्तीय सेवा निर्यातको पहल सुरु गरेको छ। संस्थाले ‘ग्लोबल एकाउन्टिङ इनिसियटिभ इन नेपाल’ परियोजना मार्फत नेपाली लेखापरीक्षण सेवा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै विदेशी मुद्रा भित्र्याउने योजना बनाएको छ।
आईक्यानका अध्यक्ष सीए निल सारूका अनुसार, परियोजना मार्फत सेवा दिन चाहनेले दर्ता गरेर काम सुरु गर्न सक्ने प्लेटफर्म समेत निर्माण गरिएको छ। यसले नेपाली लेखा–वित्त क्षेत्रलाई विश्वव्यापी प्रतिस्पर्धी बनाउने र रोजगार सिर्जना गर्ने लक्ष्य राखेको छ।
संस्थाका अनुसार, पहिलो चरणमा देशको सकारात्मक माहोल, तथ्याङक सुरक्षा, आवश्यक कानुनी–नियम व्यवस्था सुनिश्चित गर्नुपर्नेछ। आगामी पाँच वर्षमा ५० हजार र दस वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना हुने दाबी गरिएको छ। हाल आंशिक रूपमा लेखा सेवा निर्यात हुँदा वार्षिक करीब ३० मिलियन डलर विदेशी मुद्रा नेपाल भित्रिएको छ, र परियोजना सफल भए आगामी १० वर्षमा ६ अर्ब डलरसम्म पुर्याउन सक्ने सम्भावना देखिएको छ।
परियोजनामा आउटसोर्सिङ हब, डिजिटल प्लेटफर्म, इनक्युबेसन सेन्टर स्थापना गरी नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गरिनेछ। विश्व बजारमा भारत, बंगलादेश, भियतनाम र फिलिपिन्सले देखाएको प्रभावकारी उपस्थिति हेर्दा नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने आईक्यानको बुझाइ छ।
सारूका अनुसार, परियोजना सफल बनाउन कर छुट, मूल्य अभिवृद्धि कर स्पष्टता, वैदेशिक विनिमय प्रक्रिया सरल पार्ने, डेटा संरक्षण कानुन सुदृढ गर्ने र विदेशी शाखा सञ्चालनको सुविधा जस्ता नीतिगत सुधार आवश्यक छन्। यसरी नेपाली लेखापरीक्षकहरूले पनि विदेशमा शाखा खोलेर सेवा प्रदान गर्न सक्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया