नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार देशको चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको पाँच महिनामा १ अर्ब १८ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा बढेर २ अर्ब ५४ करोड डलर पुगेको छ।
पाँच महिनाको अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५० करोड रुपैयाँ थियो। यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष १ अर्ब ६८ करोड डलरबाट बढेर समीक्षा अवधिमा २ अर्ब ९८ करोड डलर पुगेको छ।
त्यस्तै, २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २०८२ मङ्सिर मसान्तसम्म ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तको १९ अर्ब ५० करोड डलरबाट बढेर मङ्सिर मसान्तमा २२ अर्ब १३ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति २०८२ असार मसान्तको २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँबाट १८.७ प्रतिशतले वृद्धि भई मङ्सिर मसान्तमा २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि २६३ अर्ब ४ करोड रुपैयाँबाट २७.४ प्रतिशतले वृद्धि भई ३३५ अर्ब रुपैयाँ पुगेको छ। मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२–८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।









प्रतिक्रिया