महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ। मासिक करिब २ करोड रुपैयाँ घाटा व्यहोर्दै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै अस्पतालले सूचना जारी गरेर सेवा बन्द गर्ने जानकारी दिएको हो।
अस्पतालका अनुसार लामो समयदेखि दाबी भुक्तानी नपाउँदा स्वास्थ्य बीमा बोर्डले हालसम्म करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। स्वास्थ्य बीमामार्फत उपचार गराउन आउने बिरामीको चाप बढ्दै जाँदा अस्पतालको मासिक खर्च झण्डै ५ करोड रुपैयाँ पुगेको छ। तर, बीमा बोर्डले दाबी गरिएको रकममध्ये करिब ५० प्रतिशत मात्र स्वीकृत गर्ने र बाँकी अस्वीकृत गर्दै आएको अस्पतालको गुनासो छ।
अस्पतालले बीमा बोर्डसँग दररेट शुल्क फरक भएको र अस्पतालले तोकेको शुल्कलाई अन्तिम मानिदिन पटक–पटक आग्रह गरे पनि पछिल्ला दुई वर्षदेखि सुनुवाइ नभएको जनाएको छ। यही कारण आर्थिक भार बढ्दै गएपछि बाध्य भएर सेवा बन्द गर्ने निर्णय गर्नुपरेको अस्पतालको भनाइ छ।
टिचिङ अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको थियो। अस्पतालको यो निर्णयपछि स्वास्थ्य बीमा सेवामा निर्भर बिरामीहरू थप समस्यामा पर्ने आशंका गरिएको छ।










प्रतिक्रिया