इरान र इजरायल–अमेरिका बीच भीषण युद्ध जारी रहेकै अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रिय फुटबल टोलीलाई आगामी विश्वकप खेल्न अमेरिकामा स्वागत गरिने बताएका छन्।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रपति ट्रम्पसँग भएको भेटबारे जानकारी दिँदै यस्तो बताएका हुन्।
सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुने विश्वकपका लागि इरानले यसअघि नै छनोट चरण पार गरिसकेको छ।
इन्फान्टिनोका अनुसार वासिङ्टनमा भएको उक्त भेटमा विश्वकपको तयारी, सुरक्षा व्यवस्था तथा सहभागी राष्ट्रहरूको व्यवस्थापनका विषयमा छलफल भएको थियो।
राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा जारी तनाव र सैन्य कारबाहीका बाबजुद पनि खेलकुदलाई राजनीतिक विवादको छायामा नराख्ने संकेत गरेका छन्। उनले इरानी टोलीको विश्वकप सहभागितामा कुनै अवरोध नहुनेमा जोड दिएका छन्।
“छलफलका क्रममा राष्ट्रपति ट्रम्पले इरानी टोलीलाई संयुक्त राज्य अमेरिकामा प्रतिस्पर्धा गर्न अवश्य पनि स्वागत गर्नुभयो,” इन्फान्टिनोले लेखेका छन्।
युद्धको तनावबीच आएको यस सन्देशले अन्तर्राष्ट्रिय खेलकुद जगतमा केही आशाको संकेत दिएको टिप्पणी गरिएको छ।









प्रतिक्रिया