जनकपुरधामस्थित गोदावरी मोर्डन हस्पिटलमा पाठेघरको शल्यक्रियाका लागि पुगेकी एक महिलाको मृत्यु भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ की ४० वर्षीया उर्मिलादेवी यादव को बुधबार साँझ मृत्यु भएको हो।
घटनापछि उपचारमा लापरबाही भएको आरोप लगाउँदै आफन्तजनले अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। अवस्था तनावग्रस्त बनेपछि प्रहरीले मृतकका दुई जना आफन्तलाई नियन्त्रणमा लिएको छ।
मृतककी भान्जा आकाश यादव का अनुसार स्त्रीरोग विशेषज्ञ डा. सुरेन्द्र कर्ण को सल्लाहअनुसार आवश्यक जाँच गरी उर्मिलादेवीलाई अप्रेसन थियटरमा लगिएको थियो। शल्यक्रियाअघि बेहोस गराउने क्रममा उनको मृत्यु भएको उनले बताए।
“माइजु सामान्य अवस्थामा अप्रेसनका लागि जानुभएको थियो। सबै ल्याब रिपोर्ट ठीक थिए,” यादवले भने। उनका अनुसार साँझ करिब ७ बजे नै मृत्यु भइसकेको थियो तर अस्पतालले राति ९ बजे मात्र जानकारी दिएको आरोप छ।
अस्पतालका सञ्चालक डा. अशोक अधिकारी ले पनि शल्यक्रियाअघि गरिएको जाँचका आधारमा बिरामीको अवस्था सामान्य रहेको स्वीकारे। उनका अनुसार अप्रेसनअघि दिइने इन्जेक्सन (ग्यास र औषधि) पछि बिरामीको ब्लड प्रेसर एकाएक घटेको र तत्काल आईसीयूमा लगिए पनि ज्यान बचाउन नसकिएको हो।
“कुनैकुनै बिरामीमा औषधिको कारण एलर्जी हुन सक्छ, यसलाई लापरबाही भन्न मिल्दैन,” उनले स्पष्ट पारे।
उनका अनुसार शल्यक्रियामा एनेस्थेसिया चिकित्सक डा. रोशन साह र स्त्रीरोग विशेषज्ञ डा. सुरेन्द्र कर्ण सहितको टोली संलग्न थियो। मृतकका दुई छोराछोरी छन्।
आफन्तजनले शव बुझ्न अस्वीकार गर्दै घटनाको निष्पक्ष छानबिन, दोषी चिकित्सक तथा अस्पतालमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन्। आक्रोशित आफन्तले अस्पताल तोडफोड गर्न थालेपछि दुई जनालाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता डीएसपी गणेश बम ले जानकारी दिए।
घटनाको छानबिन र कारबाहीको माग गर्दै आफन्तले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरीसमेत दिएका छन्।









प्रतिक्रिया