प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई केवल चुनावी सरकार भनेर सीमित रुपमा नहेर्न आग्रह गर्दै, सुशासन र भ्रष्टाचारविरुद्ध आक्रामक रूपमा काम गर्ने सरकार भएको स्पष्ट गरेकी छन्।
भ्रष्टाचारविरुद्धको २२औं अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले आफ्नो सरकार जेनजी आन्दोलनको माग र अपेक्षाबाट जन्मिएको भएकाले नियमित कामसँगै सुशासनमा ठोस प्रगति गर्ने लक्ष्यसहित अघि बढिरहेको बताइन्।
उनले भनिन्, “जेनजीका मागअनुसार परिणाम हासिल हुन केही समय लाग्ला, तर भ्रष्टाचारविरुद्ध जुनसुकै कठोर कदम चाल्न सरकार पछाडि हट्ने छैन। राज्यका संयन्त्रहरू पूर्ण रूपमा क्रियाशील भइसकेका छन्।”
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध उठाइएका कदमबाट डराएका केही तत्वहरूले प्रत्यक्ष–परोक्ष दबाब र धम्की दिने प्रयास गरे पनि सरकार अडिग रहने उल्लेख गरिन्।
त्यसैगरी, उनले सम्बद्ध निकायका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूलाई नडराई, विचलित नभई आफ्नो व्यावसायिक स्वतन्त्रता प्रयोग गर्दै सुशासन कार्यान्वयनमा सक्रिय रूपमा लाग्न आग्रह गरिन्।







प्रतिक्रिया