नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक सुधार निजी क्षेत्रको सक्रिय सहभागिताबिना सम्भव नहुने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहमा आइतबार काठमाडौंमा बोल्दै उनले निजी क्षेत्रलाई निर्णय प्रक्रियाबाट टाढा राख्ने वर्तमान प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार नेपालमा निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै सकारात्मक छैन, जसका कारण नीति निर्माणमा उनीहरूलाई सहभागी गराउने प्रयास कम देखिन्छ। “जुनसुकै आन्दोलन वा व्यवस्था परिवर्तन हुँदा पनि आर्थिक एजेन्डामा एकताबद्ध भएर अघि बढ्न नसक्दा हामी पछाडि पर्छौं,” ढकालले भने।
ढकालले निजी क्षेत्रबिना बनाइएका नीतिहरू प्रभावकारी सिद्ध नभएको उदाहरण दिँदै सामूहिक ढंगले अघि नबढेसम्म आर्थिक गतिविधि विस्तार हुन नसक्ने बताए। “कलेक्टिभ एप्रोचमा नजाँदासम्म वास्तविक परिणाम आउँदैन,” उनले जोर दिए।
अन्त्यमा उनले आन्तरिक पुँजी परिचालनमार्फत नेपालमै ठूला–ठूला परियोजना निर्माण गर्न सकिने उल्लेख गर्दै, “नेपालमा सम्भावना छैन भन्ने सोच बदलिएको छ; हामीले नेपालमै ठूलो सम्भावना रहेको सन्देश दिन सफल भएका छौं,” भने।









प्रतिक्रिया