भेनेजुएलामा अभियान सञ्चालन गर्न सीआईएलाई ट्रम्पको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

३० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सीआईएलाई अभियान सञ्चालन गर्न अनुमति दिएको बताएका छन्। ट्रम्पको यस कदमविरुद्ध दक्षिण अमेरिकी देशका नेताहरूले कडा आपत्ति जनाएका छन्।

पछिल्ला हप्ताहरूमा अमेरिकी सेनाले क्यारिबियन सागरमा लागुऔषध तस्करीको आशंकामा कम्तीमा पाँच पटक धेरै जहाजहरूमाथि हमला गरेको छ । यी हमलाहरूमा परी २७ जनाको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघका मानव अधिकार विशेषज्ञहरूले यी कार्यहरूलाई ‘गैरकानुनी हत्या’ भनेका छन्।

बीबीसीका अनुसार, ह्वाइट हाउसमा ट्रम्पले अमेरिकाले लागुऔषध तस्कर गर्ने समूहहरूमाथि थप कारबाहीको तयारी गरिरहेको बताए।

यसैबीच, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले टेलिभिजनमार्फत अमेरिकासँग शान्तिको अपील गरे।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, ट्रम्पको स्वीकृतिका कारण सीआईएले भेनेजुएलामा एकपक्षीय रूपमा वा कुनै व्यापक अमेरिकी सैन्य गतिविधिको अंशको रूपमा अभियान चलाउन सक्नेछ।

हाल सीआईएले भेनेजुएलामा कुनै अभियानको तयारी गरिरहेको छ वा छैन भन्ने बारेमा कुनै जानकारी छैन, तर यो जासुसी एजेन्सीको दक्षिण अमेरिकामा लामो इतिहास रहेको छ।

बुधबार ओभल अफिसमा एफबीआईका निर्देशक काश पटेल र महान्यायाधिवक्ता पाम बोंडीसँग पत्रकारहरूको कुराकानीमा ट्रम्पलाई न्युयोर्क टाइम्सको रिपोर्टबारे प्रश्न सोधिएको थियो।

एक पत्रकारले सोधे, ‘तपाईंले सीआईएलाई भेनेजुएला जान किन अनुमति दिनुभयो?’

जवाफमा ट्रम्पले भने, ‘मैले दुई कारणले अनुमति दिएँ। पहिलो, उनीहरूले (भेनेजुएलाले) आफ्ना जेलका कैदीहरूलाई अमेरिकामा छाडिदिएका छन्।’

उनले थपे, ‘र, दोस्रो कुरा लागुऔषध हो। भेनेजुएलाबाट धेरै लागुऔषध आउँछ, यो प्रायः समुद्रको बाटोबाट आउँछ, तर हामी तिनीहरूलाई जमिनको बाटोबाट पनि रोक्नेछौं।’