चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ। कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट किसान र व्यापारी खसीबोका खरिदबिक्रीका लागि धरान आउने गरेका छन्।
बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोकाको समेत कारोबार हुँदै आएको छ। बिहीबार र शुक्रबार विशेष रूपमा खसीबोकाको बजार लाग्ने गरेको छ।
धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन्। उनले घरमै पालेका तथा धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याएका खसीबोका बिक्री गर्ने गरेका छन्।
मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का पनि प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउने गरेका छन्। उनले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएको र धरानबाट खरिद गरेका खसीबोका काठमाडौं, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री गर्ने गरेको बताए।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य अवस्थामा सातामा ३ हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन्। दसैं, तिहारजस्ता चाडपर्वको समयमा भने यो संख्या सातामा १० हजारभन्दा बढी पुग्ने गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा कृषि उपज बजारबाट १ लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब ३ अर्ब रुपैयाँको कारोबार भएको भट्टराईले बताए। गत वर्षको चाडपर्वमा मात्रै करिब ४६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यस वर्ष कारोबार अझ बढ्न सक्ने उनको भनाइ छ।
अध्यक्ष भट्टराईका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष खसीबोकाको कारोबार करिब १५ प्रतिशतले वृद्धि भइसकेको छ। बजारमा पहाडी जिल्लासँगै इटहरी, मोरङको कानेपोखरी र बेलबारीलगायत क्षेत्रका किसान तथा व्यापारी पनि आउने गरेका छन्।
कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्याउँदै आएको भट्टराईले बताए।







प्रतिक्रिया