कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन सुरु गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ।

लगातार चार दिनसम्म परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि जोखिम न्यूनीकरणका लागि आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको थियो।

आयोजनाका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको सतह घट्दै गएपछि सुरुङभित्रको हिलो हटाउने तथा पावर हाउसको अवस्था निरीक्षण गर्ने काम गरिएको छ। प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरिसकेकाले बिहान १० बजेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको उनले बताए।

कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडिएको थियो। १४४ मेगावाट क्षमताको आयोजना बन्द हुँदा विद्युत् प्रणालीमा समेत प्रभाव परेको थियो।

लगातारको वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको छ। डुबानबाट विस्थापित २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा स्थानान्तरण गरिएको छ।

यसैबीच, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत आइतबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले बगाएको छ।