भारतबाट बढेको मूल्यसूची आएपछि नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले वृद्धि गरेको छ। निगमले बुधबार बिहानदेखि लागू हुनेगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको नयाँ मूल्य कायम गरेको हो।
निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ पुर्याइएको छ। यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलरबाट बढाएर १७८५ डलर कायम गरिएको छ। पोखरामा ८०१ डलरबाट १७३२ डलर र भैरहवामा ७८९ डलरबाट १७१६ डलर पुर्याइएको छ।
तर, घाटा व्यहोरेर भए पनि निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिका कारण निगमको वित्तीय अवस्था थप दबाबमा परेको छ।
इन्डियन आयल कर्पोरेसन बाट आएको पछिल्लो मूल्यसूची अनुसार डिजेलमा ९४ रुपैयाँ, पेट्रोलमा ४१ रुपैयाँ, हवाई इन्धनमा १२३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १९० रुपैयाँ वृद्धि भएको छ, जुन हालसम्मकै उच्च वृद्धि भएको निगमले जनाएको छ।
पछिल्लो लागतअनुसार निगमले प्रत्येक १५ दिनमा करिब १३ अर्ब २१ करोड रुपैयाँ र मासिक २६ अर्ब ४२ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। अहिलेको मूल्य संरचनाअनुसार डिजेलमा प्रतिलिटर १३३ रुपैयाँ, पेट्रोलमा ४७ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँ घाटा रहेको बताइएको छ।
स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाउँदा महँगी बढ्ने र समग्र अर्थतन्त्रमा असन्तुलन आउन सक्ने जोखिमका कारण निगमले अन्य इन्धनको मूल्य नबढाएको जनाएको छ।








प्रतिक्रिया