सुनदह लाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र प्रिमियर गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्ड को सहकार्यमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनदहको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
कार्यक्रममा उनले पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार र विभिन्न निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिए। “सुनदहको वास्तविक सौन्दर्य जीवन्त रूपमा प्रस्तुत गरिएको छ,” भन्दै उनले डकुमेन्ट्रीको छायांकन र प्रस्तुतीको प्रशंसा गरे।
उनले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र स्थानीय तहबीच सहकार्य बढाएर सुनदहलाई विशेष गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। साथै, रुकुम पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन प्रवर्द्धनका लागि सडक, पुल लगायतका भौतिक पूर्वाधार अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढा ले सुनदहलाई “स्वर्गबाट चोइटिएर खसेको टुक्रा” भन्दै यसको भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आह्वान गरिन्।
त्यसैगरी सूर्य थपलिया ले सुनदहलाई विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्यका रूपमा उल्लेख गर्दै रुकुम पूर्वका नयाँ पर्यटकीय स्थलहरूको ब्रान्डिङ गर्नुपर्ने बताए।
स्थानीय तहका प्रतिनिधिहरूले पनि पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश र केन्द्र सरकारबाट बजेट सहयोगको आवश्यकता औंल्याएका छन्।
४,४३५ मिटर उचाइमा अवस्थित सुनदह प्राकृतिक, जैविक र सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्थल मानिन्छ। यहाँ रेड पान्डा, कस्तुरीजस्ता दुर्लभ वन्यजन्तु तथा यार्सागुम्बा जस्ता बहुमूल्य जडीबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले पनि यो क्षेत्र निकै समृद्ध छ।
२८ मिनेटको उक्त डकुमेन्ट्रीले सुनदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया