नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णीम वाग्ले सँग मुलुकको अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल गरेको छ। अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ भेट गर्दै अर्थतन्त्रका विद्यमान समस्या र समाधानका उपायबारे सुझाव प्रस्तुत गरेको हो।
छलफलमा अध्यक्ष पाण्डेले सुशासन र उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिमा सरकारले ध्यान दिनुपर्ने बताए। उनले मन्त्री वाग्लेले अघि सारेको दोस्रो चरणको आर्थिक सुधार र पुराना तथा असान्दर्भिक ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्दै आगामी बजेटमार्फत स्पष्ट सुधारको अपेक्षा व्यक्त गरे।
उनका अनुसार रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धि र आयात प्रतिस्थापनका लागि उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्नेछ। साथै “पैसा कमाउनु अपराध हो” भन्ने सोचलाई चिर्न आवश्यक रहेको भन्दै वैधानिक रूपमा आर्जित सम्पत्तिलाई सकारात्मक दृष्टिले हेर्ने वातावरण बनाउन सरकारको भूमिका महत्त्वपूर्ण हुने उनले बताए। बजारमा माग वृद्धि गर्न नीतिगत पहल आवश्यक रहेकोमा पनि परिसंघले जोड दिएको छ।
परिसंघले हाल करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षभित्र १०० अर्ब डलर पुर्याउने लक्ष्यसहित अध्ययन गरिरहेको र छिट्टै प्रतिवेदन सरकारलाई बुझाउने जनाएको छ।
अर्थमन्त्री वाग्लेले भने घट्दो अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू मन्त्रालयमा आएको स्पष्ट पार्दै निजी क्षेत्र उत्साहित भए मात्र विदेशी लगानी भित्रिने बताए। उत्पादनमूलक उद्योगलाई फरक दृष्टिले हेर्ने र आयात प्रतिस्थापनलाई प्रोत्साहन गर्ने नीति लिने उनको भनाइ छ।
उनले सेवा प्रवाहलाई सहज बनाउँदै “लाइन बस्न नपरोस्, घुस दिन नपरोस्” भन्ने अवस्थातर्फ सरकार केन्द्रित रहने बताए। साथै नीतिगत स्थिरता कायम गर्दै उदार अर्थतन्त्रलाई प्रोत्साहन गरिने तर त्यसको दुरुपयोग हुन नदिइने उनले स्पष्ट पारे।
छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्याय ले लगानी सहजीकरणका लागि कानुनी अड्चन हटाउन निजी क्षेत्रसँग सुझाव मागेका थिए। कार्यक्रममा उद्योगी व्यवसायी तथा परिसंघका विभिन्न पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो।








प्रतिक्रिया