प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रयोग गरिरहेको महँगो गाडी यतिबेला चर्चाको विषय बनेको छ। झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका बालेनले बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर प्रयोग गरिरहेका छन्।
जगुआर ल्यान्ड रोभर लिमिटेडको उत्पादन उक्त डिफेन्डरको नेपाली बजार मूल्य करिब ८ करोड रुपैयाँ रहेको बताइन्छ। काठमाडौं महानगरपालिकाको मेयर पद छोडेर संघीय चुनावी राजनीतिमा होमिएका बालेनले यति महँगो गाडी कसरी प्रयोग गरिरहेका छन् भन्ने विषयले राजनीतिक वृत्तमा अनेक प्रश्न उठाएको छ।
खुल्न आएको विवरणअनुसार बालेनले प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रा.लि.को नाममा दर्ता छ। उक्त कम्पनीका लगानीकर्ता तथा मालिक कमलकिशोर मालपानी हुन्।
को हुन् कमलकिशोर मालपानी ?
व्यावसायिक पृष्ठभूमि भएका मालपानीको लगानी सुर्तीजन्य वस्तु उत्पादन गर्ने श्रीराम टोबाको कम्पनीदेखि चर्चित तयारी चाउचाउ ‘करेन्ट’ सम्म फैलिएको छ। साथै बुटवल र रुपन्देही क्षेत्रमा पाँचतारे होटल ‘सफ्रोन सीके’ लगायत अन्य विभिन्न उद्योग–व्यवसायमा समेत उनको संलग्नता रहेको छ।
सफल उद्योगीका रूपमा चिनिएका मालपानी केही वर्षअघि मानपदवी जनसेवाश्री पदकबाट सम्मानित पनि भएका थिए। तर, उनीविरुद्ध २०७६ सालमा कर छली तथा नक्कली भ्याट कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको तथ्यसमेत सार्वजनिक भइसकेको छ।
विभागका अनुसार पुस २०७६ मा बुटवल नगरपालिका–१२ स्थित श्रीराम टोबाको उद्योग प्रा.लि.का सञ्चालक मालपानीसहित सात जनाविरुद्ध राजस्व चुहावट अभियोगमा १० करोड ७३ लाख रुपैयाँ बिगो दाबी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। यद्यपि, सो मुद्दाको अन्तिम फैसला हालसम्म भएको वा नभएकोबारे स्पष्ट जानकारी उपलब्ध छैन।
चुनावी प्रचारका लागि चर्चित नेता बालेनलाई आफ्नो महँगो गाडी उपलब्ध गराएपछि कमलकिशोर मालपानी पुनः सार्वजनिक बहसको केन्द्रमा आएका छन्। यस घटनाले चुनावी खर्च, स्रोत र पारदर्शितासम्बन्धी प्रश्नहरूलाई समेत फेरि सतहमा ल्याइदिएको छ।









प्रतिक्रिया