लाखौँ मोबाइल प्रयोगकर्तालाई राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै एसएमएस पठाइएको विषयमा नेपाल टेलिकमले आफ्नो धारणा सार्वजनिक गरेको छ । टेलिकमले आफ्नो प्रणाली प्रयोग गर्ने केही सेवा प्रदायकहरूले सम्झौताविपरीत राजनीतिक प्रकृतिका सन्देश पठाएको स्वीकार गरे पनि सेवाग्राहीको व्यक्तिगत विवरण आफूले उपलब्ध नगराएको स्पष्ट पारेको छ ।
केही दिनयता ३० पुसमा हुने राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै आकाश एसएमएस र एसआई अलर्ट नामक एसएमएस गेटवेमार्फत ५० लाखभन्दा बढी पटक सन्देश पठाइएको थियो । यस घटनालाई ‘एसएमएस आतंक’ र गोपनीयताको गम्भीर उल्लङ्घन भन्दै व्यापक आलोचना भएपछि नेपाल टेलिकमले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो ।
टेलिकमका अनुसार भ्यालु एडेड सर्भिस (भ्यास) प्रणालीअन्तर्गत आबद्ध केही सेवा प्रदायकहरूले आफ्नो व्यापारिक प्रयोजनभन्दा फरक राजनीतिक सन्देश प्रवाह गरेका थिए, जसका कारण सेवाग्राहीबाट ठूलो संख्यामा गुनासो प्राप्त भएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल टेलिकमले विभिन्न व्यापार व्यवसाय प्रवर्द्धनका लागि एसएमएस प्रवाह गर्न सेवा प्रदायकलाई अनुमति दिने गरेको हो । तर कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण नेपाल टेलिकमले उपलब्ध गराउँदैन ।”
टेलिकमले सम्बन्धित सेवा प्रदायकलाई जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने किसिमका सन्देशहरू प्रवाह नगर्न सचेत गराइसकेको जनाएको छ ।
यसअघि राजावादी प्रदर्शनको आह्वान गर्ने सन्देश ‘वेदव्यास इन्टरप्राइजेज’ नामक संस्थाले आकाश एसएमएसको प्लेटफर्म प्रयोग गरी ५० लाखभन्दा बढी एसएमएस पठाएको खुलासा भएको थियो ।







प्रतिक्रिया