राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने दाबी गरेका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले राप्रपालाई पहिलो तथा निर्णायक शक्ति बनाउन सके भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सकिने प्रतिबद्धता व्यक्त गरे । उनले राष्ट्रवादी शक्तिहरू एक हुँदै गएकाले लक्ष्य कठिन देखिए पनि असम्भव नरहेको बताए ।
राप्रपामा समाहित हुने क्रम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै लिङ्देनले २०६२/६३ को राजनीतिक परिवर्तनपछि पार्टीले उठाउँदै आएको राजसंस्थाको मुद्दा अहिले सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गरे ।
उनले भने, ‘आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो पार्टीका रूपमा जिताउन सक्छौँ । सामान्य आँखाले हेर्दा कठिन वा असम्भव जस्तो लाग्न सक्छ, तर आज राप्रपा एउटै पार्टी भएर चुनावमा जाँदैछ । विगतमा राप्रपा विभाजित भएर चुनावमा जान्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन ।’
अध्यक्ष लिङ्देनले आफू अध्यक्ष रहँदासम्म राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापना भएको देख्न चाहेको पनि स्पष्ट पारे ।







प्रतिक्रिया