असाधारण परिस्थितिमा परम्परागत राजनीति पर्याप्त हुँदैन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै वर्तमान चुनौतीको सामना गर्न नसकिने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले वर्तमान राजनीतिक संकटको सामना गर्न नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमी आवश्यक रहेको उल्लेख गरे । सबै राजनीतिक दलहरूले विगतमा भएका कमजोरीबारे आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेकपाले पनि आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी सुधार र रुपान्तरणको संकल्प लिएको दाबी गरे ।

उनले भने, ‘सबै राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतका कमजोरीको मूल्यांकन गर्नुपर्छ । हामीले पनि हाम्रो भागमा परेका कमजोरीको समीक्षा गर्‍यौं र ती सच्याउँदै रुपान्तरणको बाटोमा अघि बढ्ने संकल्प गरेका छौँ । यो असाधारण परिस्थितिको सामना नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीबाट मात्रै सम्भव छ ।’

प्रचण्डले मुलुकले सामना गरिरहेको कठिन अवस्थामा राष्ट्रिय एकता सुदृढ गर्न र राष्ट्रिय स्वाधीनतालाई मजबुत बनाउन पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको पनि स्पष्ट पारे । परम्परागत ढंग र ‘चल्ते–चलाते’ शैलीबाट देशको वर्तमान अवस्था समाधान हुन नसक्ने भन्दै उनले नितान्त नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।