नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा निर्वाचन हुने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले २१ फागुनमा निर्वाचन हुने बताउँदै पार्टीका सबै नेता–कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिएका छन्।
नेपालले निर्वाचन समयमा ‘चुप बस्ने’ प्रवृत्तिबाट जोगिन सचेत गराउँदै पार्टीका लागि यो अग्नि परीक्षा भएको उल्लेख गरे। उनले भने, “चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ। यसका लागि सिंगो पार्टी पंक्ति एकताबद्ध भएर परिचालन हुन जरुरी छ।”
सहसंयोजक नेपालले पार्टीले निर्वाचनका लागि घोषणा पत्रको मस्यौदा निर्माणको काम सुरु गरिसकेको र छिट्टै संयोजक पुष्पकमल दाहालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन हुने जानकारी पनि दिएका छन्।
उनले निर्वाचनमा पैसाको लेनदेन र अन्य विकृतिहरूको सामना गर्न सचेत रहनुपर्ने आवश्यकता रहेको पनि जोड दिए।







प्रतिक्रिया