प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शोक व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रशान्त तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै प्रशान्तको निधनले मनोरञ्जन जगतलाई अपूरणीय क्षति पुगेको बताएका हुन् ।

प्रधानमन्त्री मोदीको शोकपत्रलाई भारतीय जनता पार्टीका सांसद तथा पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । शोकपत्रमा मोदीले प्रशान्त तामाङको गायन र अभिनय क्षमताको उच्च प्रशंसा गर्दै उनलाई दृढ संकल्प र अपार प्रतिभाको प्रतीकका रूपमा चित्रण गरेका छन् ।

मोदीले लेखेका छन्, “आफ्नो मधुर गायन र उत्कृष्ट अभिनयमार्फत प्रशान्त तामाङ जीले मनोरञ्जन जगतमा आफ्नै पहिचान बनाउनुभयो । उहाँले करोडौंको हृदय छुनुभयो ।”
उनले प्रशान्त अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीका अनुसार प्रशान्तको जीवन यात्राले युवापुस्तालाई आफ्ना सपनामा विश्वास गर्न र ती पूरा गर्न कडा परिश्रम गर्न प्रेरित गर्छ । “प्रशान्त तामाङको जीवन यात्रा आफ्ना सपना उहाँकै कथामा देख्ने असंख्य मानिसका लागि प्रेरणास्रोत हो,” शोकपत्रमा उल्लेख छ ।

यसअघि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गरेकी थिइन् । प्रशान्तको आइतबार नयाँ दिल्लीमा हृदयघातका कारण निधन भएको थियो । सोमबार उनको शव जन्मस्थल दार्जिलिङ लगिएको छ भने मंगलबार सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ