केही समयअघिसम्म निक्षेप संकलन उपकरण र रिभर्स रिपोमार्फत बजारको तरलता व्यवस्थापन गर्दै आएको नेपाल राष्ट्र बैंक पछिल्लो समय ऋणपत्र (बन्ड) जारी गर्ने रणनीतिमा केन्द्रित हुँदै गएको छ।
चालु आर्थिक वर्षमा पहिलो पटक २०८२ साल पुस १४ गते राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गरेको थियो। त्यसयता ऋणपत्र जारी गर्ने क्रम जारी राख्दै राष्ट्र बैंकले मंगलबार आठौँ पटक ऋणपत्र जारी गर्न लागेको हो।
सोमबार २५ अर्ब रुपैयाँको बन्ड जारी गरेको राष्ट्र बैंकले आज (मंगलबार) २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज’ जारी गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार यस ऋणपत्रमा अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
तर, उक्त ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र सहभागिता जनाउन पाउने छन्। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकले ऋणपत्र निष्कासनको मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरिने र सो रकमको २.५० प्रतिशत हर्जनासहित त्यस्ता काउन्टरपार्टीलाई छ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने चेतावनी पनि दिएको छ।
राष्ट्र बैंकले पहिलो पटक २०५३ सालमा ‘नेपाल राष्ट्र बैंक बन्ड २०५३’ जारी गरेको थियो। विगतमा खासै प्राथमिकतामा नराखिएको ऋणपत्रलाई राष्ट्र बैंकले पछिल्लो समय पुनः तरलता व्यवस्थापनको महत्वपूर्ण औजारका रूपमा प्रयोग गर्न थालेको देखिन्छ।







प्रतिक्रिया