इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन्। पछिल्ला दुई सातामा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परेका छन्। मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ। इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको र इरानी सरकारले अहिलेसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक नगरेको जनाइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन्। आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानमाथि साइबर आक्रमणदेखि प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पबारे राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको बताए। ‘हामीसँग निकै बलिया विकल्पहरू छन्,’ उनले भने, ‘यदि इरानले प्रतिशोध लियो भने अभूतपूर्व जवाफ दिइनेछ।’
ट्रम्पका अनुसार तेहरानले वार्ताको प्रस्ताव गरेको छ र बैठक तय गर्ने प्रयास भइरहेको छ। तर प्रदर्शनकारीमाथिको दमन र मृतकको सङ्ख्या बढिरहेकाले बैठकअघि नै कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए। यद्यपि, यसबारे इरानी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
इरानले भने अमेरिकालाई कडा चेतावनी दिँदै हस्तक्षेप भए अमेरिकी सेना र इजरायल ‘वैध लक्ष्य’ हुने बताएको छ। इरानी संसद्मा पनि आक्रामक अभिव्यक्ति आएका छन् भने राजधानी तेहरान र मशहदसहित विभिन्न सहरमा ठूलो प्रदर्शन जारी छ। सामाजिक सञ्जालमा आएका भिडियोहरूमा प्रदर्शनकारीहरूले मोबाइल फोनको उज्यालो देखाउँदै नारा लगाएको देखिन्छ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रदर्शनकारीविरुद्धको हिंसाप्रति चिन्ता व्यक्त गर्दै संयम अपनाउन र सञ्चार सेवा पुनःस्थापना गर्न आग्रह गरेका छन्। भ्याटिकनका पोप लियो चौधौँले पनि संवाद र शान्तिको आह्वान गरेका छन्। डिसेम्बर २८ देखि सुरु भएको आन्दोलन आर्थिक संकटविरुद्ध सुरु भए पनि अहिले इस्लामिक शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीका रूपमा फैलिँदै गएको छ।







प्रतिक्रिया