चितवनको सिमलताल नजिकै त्रिशूली नदी किनारमा बस जस्तै देखिने सवारीको टुक्रा फेला परेको छ। सिमलतालबाट करिब दुई सय मिटर तल पारितर्फ उक्त टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले जानकारी दिए।
उनका अनुसार बस जस्तै देखिने सवारीको टुक्रा भेटिएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको छ। टोली घटनास्थलमा पुगेर यकिन गरेपछि मात्रै थप विवरण स्पष्ट हुने डीएसपी खनालले बताए।
गत २८ असार २०८१ मा सिमलतालस्थित त्रिशूली नदीमा दुईवटा यात्रुबाहक बस खसेर बेपत्ता भएका थिए। बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति बस र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नदीमा खसेका थिए।
उक्त दुर्घटनापछि केही यात्रुको शव फेला परे पनि केही यात्रु अझै बेपत्ता छन्। अहिले फेला परेको बस जस्तै सवारीको टुक्रा ती नै बेपत्ता भएका बससँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







प्रतिक्रिया