नेपाली कांग्रेसको विवादलाई निर्वाचन आयोगले नजिकबाट हेरिरहेको जनाएको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई नजिकबाट हेरिरहेको जनाएको छ। शुक्रबार आयोजित प्रेस ब्रिफिङमा आयोगले दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगको ध्यानमा रहेको स्पष्ट पारेको हो।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले नेपाली कांग्रेसको विवाद पार्टीको आन्तरिक विषय भएकाले आयोग त्यसमा प्रवेश नगर्ने बताए। यद्यपि उनले आयोगले घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरे।

हाल नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनको विषयमा विवाद चर्किएको छ। केही दिनअघि बसेको कार्यसम्पादन समिति बैठकले आगामी बैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको थियो। तर, विशेष महाधिवेशनका पक्षधरहरूले भने पुस २७ र २८ गते विशेष महाधिवेशन बैठक आह्वान गरेका छन्।

विशेष महाधिवेशनको पक्षमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपमहामन्त्री फरमुल्लाह मन्सुरलगायत नेताहरूको समर्थन रहेको छ। विशेष र नियमित महाधिवेशनको विवाद निर्वाचन आयोगसम्म समेत पुगेको छ। केही दिनअघि विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्राचार गरे पनि आयोगले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

आयोगले यो विषयलाई पार्टीको आन्तरिक लोकतन्त्रसँग जोडिएको विषयका रूपमा हेरेको जनाएको छ। प्रवक्ता भट्टराईले भने, “यो उहाँहरूको आन्तरिक लोकतन्त्रको विषय हो, अहिलेलाई यति नै भन्न चाहन्छौं।”