नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना २०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ।
उक्त योजनाअनुसार निर्वाचनको करिब एक महिनाअघि नै सेनालाई फिल्डमा परिचालन गरिनेछ। निर्वाचनका क्रममा सेनाले तीन चरणमा काम गर्नेछ। निर्वाचनपूर्व चरणमा मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरेर गर्नेछ।
निर्वाचन अवधिमा चारै सुरक्षा निकाय र जिल्ला प्रशासनसँग सहकार्य गर्दै तल्लो तहसम्म एकीकृत तालिम तथा अभ्यास सञ्चालन गरिने सेनाले जनाएको छ। मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचनस्थल र केन्द्रको सुरक्षा गर्दै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिलाउनेछ।
मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि सेनाले बहन गर्नेछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अहिले प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन्। प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन गरी थप सुरक्षा प्रबन्ध मिलाइने सेनाले स्पष्ट पारेको छ।







प्रतिक्रिया