हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटधाममा यस वर्षको माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यापक तयारी सुरु गरिएको छ। देवघाट क्षेत्र विकास समितिले मेला व्यवस्थापनका लागि मूल समिति तथा विभिन्न उपसमितिहरू गठन गर्दै तयारीलाई तीव्र बनाएको हो।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार १५१ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ। मेलाको सफल सञ्चालनका लागि स्वयंसेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाइ, अस्थायी शौचालय, खानेपानी, प्राथमिक स्वास्थ्य सेवा, विद्युत् तथा बत्ती व्यवस्था, डुङ्गा व्यवस्थापन, आकस्मिक उद्धार, स्नानघाट व्यवस्थापन, सुरक्षा, सूचना तथा प्रचारप्रसारलगायत १९ वटा शीर्षकगत उपसमिति गठन गरिएको छ।
मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका तथा चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिएको निर्देशक बरालले जानकारी दिए। भक्तजनको सहज आवतजावतका लागि रुट निर्धारण र चितवनतर्फको सडक मर्मत कार्यलाई प्राथमिकतामा राखिएको छ।
देवघाटस्थित झोलुङ्गे पुलबाट मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ भने पैदल यात्रुका लागि मात्र पुल खुला रहनेछ। सवारीसाधनका लागि दासढुङ्गा पुल तथा ठिमुरा क्षेत्र प्रयोग गर्न सकिने र चितवनतर्फ पार्किङ गरी डुङ्गामार्फत ५० रुपैयाँ शुल्क तिरेर वारपार गर्न सकिने व्यवस्था मिलाइएको छ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीका अनुसार मेलालाई मासु, मदिरा तथा धुम्रपानरहित बनाउने प्रयास गरिएको छ। यही पुस ११ गतेदेखि देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको जनाउँदै उनले भक्तजनलाई प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गरे। एकपटक प्रयोग हुने पातला प्लास्टिक झोला, बोतल, गिलास र प्लेटको प्रयोग क्रमशः निषेध गर्दै वातावरणमैत्री विकल्प प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ।
नेपालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम कृष्णागण्डकी र त्रिशूली नदीको सङ्गमस्थलका रूपमा परिचित छ। पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण यो क्षेत्र माघे सङ्क्रान्तिका अवसरमा विशेष मेलाका लागि प्रसिद्ध छ। यस अवसरमा देश–विदेशबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनको आगमन हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया