नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा भूमि आयोग कास्कीका अध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार पोखरा महानगरपालिका–२६ लेखनाथमा रहेको सामुदायिक अमरज्योती आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा भूमी आयोग कास्कीले गैरसुकुम्बासीलाई सुकुम्बासी देखाएर दर्ता गराएको पाइएको छ । झुटा विवरणका आधारमा भीमबहादुर विकले आफ्नी पत्नी सुकुमाया कामीको नाममा उक्त जग्गा दर्ता गराएको अख्तियारको आरोप छ ।

अख्तियारले यस प्रकरणबाट राज्यलाई एक करोड ४० लाख रुपैयाँ बराबरको हानीनोक्सानी भएको दाबी गरेको छ । उक्त मुद्दामा भूमि आयोग कास्कीका तत्कालीन अध्यक्ष पोखरेलसँगै सदस्य तथा कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपालीलाई प्रतिवादी बनाइएको छ । जग्गा लिने भीमबहादुर विकविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी यसअघि पनि लिचीबारी जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनीमाथि यसअघि पनि भ्रष्टाचार मुद्दा चलिसकेको थियो ।

भूमी आयोग कास्कीको अध्यक्ष नियुक्तिमा समेत लेनदेन भएको अडियो सार्वजनिक भइसकेको थियो । तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र विचौलियाबीचको अडियोमा भूमी आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि आर्थिक चलखेल भएको संवाद बाहिरिएको थियो । उक्त अडियोमा भूमी व्यवस्थामन्त्री बलराम अधिकारीले अर्कैसँग घुस लिएर कास्कीको भूमि आयोग अध्यक्ष नियुक्ति गरिसकेको उल्लेखसमेत रहेको थियो ।

त्यही संवादमा नाम जोडिएका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेलसहित सबै पदाधिकारी अहिले भ्रष्टाचार मुद्दामा तानिएका हुन् ।