राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुक जबरजस्ती निर्वाचनतर्फ धकेलिएको आरोप लगाए ।
अध्यक्ष लिङ्देनले वर्तमान अवस्थामा राप्रपाका नेता–कार्यकर्ताको प्रमुख जिम्मेवारी चुनावलाई आन्दोलनको एउटा हिस्साका रूपमा प्रयोग गर्नु रहेको बताए । “अहिले जबरजस्ती मुलुक चुनावतर्फ होमिएको छ । यस्तो अवस्थामा हामी राप्रपाका नेता–कार्यकर्ताले यो चुनावलाई आन्दोलनको रूपमा उपयोग गर्नुपर्छ,” उनले भने ।
उनले फागुन २१ को निर्वाचनले मुलुकका विद्यमान समस्याको समाधान नगर्ने दाबी गर्दै सबै राजनीतिक शक्तिलाई निरन्तर आग्रह गरिरहेको उल्लेख गरे । “अस्ति भएको विद्रोह मध्यावधि चुनाव वा २०८४ को चुनावलाई २०८२ मा गर्नका लागि होइन,” लिङ्देनले स्पष्ट पारे ।
देशलाई निकास दिन राजा, राजनीतिक दल तथा नवयुवा पुस्तासहितको सर्वपक्षीय सम्मेलन आवश्यक रहेको उनले बताए । लामो समयदेखि उठाइएका विषयहरू सम्बोधन नगरी स्थायी शान्ति सम्भव नहुने उनको भनाइ छ ।
“राजा, राजनीतिक दल र अहिलेको नवयुवा पुस्तासहित सर्वपक्षीय सहमति निर्माण गरेर देशलाई निकास दिएपछि मात्र चुनाव गर्नुपर्छ भन्ने हाम्रो अडान रहँदै आएको छ,” अध्यक्ष लिङ्देनले भने ।







प्रतिक्रिया