अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकार सत्तामा टिकिरहनेतर्फ नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न केन्द्रित रहेको स्पष्ट पारे ।
गृहमन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको अभिन्न अंग भएको उल्लेख गर्दै निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने र देश थप अस्थिरतातर्फ जान सक्ने चेतावनी दिए । “सुशासन चाहने हो भने आवधिक निर्वाचनको कुनै विकल्प छैन,” उनले भने ।
उनका अनुसार ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्ने भएकाले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको उनले जानकारी दिए ।
निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार तयारी भइरहेको उल्लेख गर्दै उनले समानुपातिक निर्वाचनतर्फको नामावली निर्वाचन आयोगमा दर्ता भइसकेको बताए । “निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढताका साथ लागेको छ,” उनले भने ।
गृहमन्त्रालयको कार्यभार चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले जेनजी जनआन्दोलनपछिको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र नागरिकलाई सुरक्षा प्रत्याभूति दिन सरकार सफल भएको दाबी गरे ।
सुरक्षा गोष्ठीले कोशी प्रदेशको वस्तुस्थिति र सुरक्षा वातावरण बुझ्न सहयोग पुग्ने तथा निर्वाचनका लागि सुरक्षित वातावरण निर्माण गर्न ठोस योजना बनाउन मद्दत गर्ने उनको भनाइ छ ।







प्रतिक्रिया