फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै बालेनको म्याराथन छलफल, ‘अहिलेकै संविधान र संघीयतामै अघि बढ्छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले छलफलका क्रममा आफू अहिलेकै संविधान मानेर अघि बढ्ने स्पष्ट पारेका छन्।

बालेन हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग समानान्तर भेटवार्ता गरिरहेका छन्। साथै विभिन्न दलका नेता, जेन–जी प्रतिनिधि तथा पूर्वविवेकशील साझाका नेताहरूसँग समेत उनले ‘म्याराथन मिटिङ’ गरिरहेका छन्।

ती छलफलमा सहभागीहरूका अनुसार बालेनले आफू संविधान र संघीयताको पक्षमा रहेको धारणा राख्दै आएका छन्। जेन–जी प्रतिनिधिहरूसँगको छलफलमा संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय उठ्दा बालेनले संघीयता नेपालका लागि आवश्यक रहेको र हालको संविधान नै उपयुक्त भएको बताएका छन्।

जेन–जी प्रतिनिधि रक्षा बमका अनुसार बालेनले ‘संघीयता चाहिन्छ, यो संविधान बेस्ट नै छ। कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले समस्या देखिएको हो’ भन्ने धारणा व्यक्त गरेका थिए। प्रत्यक्ष कार्यकारी प्रणालीबारे पनि छलफल भएको र ती विषयमा बालेनका जवाफ सुनेपछि आफू विश्वस्त भएको बमले बताइन्।

संघीयताको पक्षमा बालेनले खुलेर धारणा राखेको यो पहिलो पटक मानिएको छ। यसअघि संघीयताबारे उनी स्पष्ट नदेखिएका थिए। अघिल्लो आमनिर्वाचनमा उनले प्रतिनिधिसभातर्फ मात्र मतदान गरेका थिए भने प्रदेशसभाको मतपत्र नै नलिएको विषय चर्चामा आएको थियो।

बालेन जेन–जी लगायत सबै नयाँ राजनीतिक शक्तिलाई ‘देश विकास पार्टी’ मार्फत एकजुट गर्दै निर्वाचनमा भाग लिने तयारीमा छन्। उनले आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरको कुपण्डोलस्थित निवासमा राजनीतिक छलफल गरेका थिए भने शुक्रबारबाट पार्टी कार्यालयसमेत खोलेका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने मिति नजिकिँदै गएपछि बालेनले आफ्नो तर्फबाट राजनीतिक गृहकार्य तीव्र बनाएको उनका निकट स्रोतहरूले बताएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक बन्दसूची बुझाउनुपर्ने कार्यतालिका छ।