प्रधानमन्त्री कार्की भन्छिन्– मुलुकलाई बंगलादेश बन्न दिन हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश जस्तो अस्थिर अवस्थामा पुग्न नदिन सबै जिम्मेवार बन्नुपर्ने बताएकी छिन्। बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले मुलुक बंगलादेश नहोस् भन्ने कुरामा सरकार दृढ रहेको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार ‘अचानो जस्तो’ बनेको टिप्पणी दोहोर्‍याउँदै राजनीतिक दल र जेन–जी समूहहरूबाट दिनहुँ सरकार छोड्न दबाब र गालीगलौज भइरहेको गुनासो गरिन्। युवाहरूमा ‘निर्वाचन किन चाहियो’ भन्ने भाषासमेत आउन थालेको उल्लेख गर्दै उनले वर्तमान अवस्था सहज नरहेको बताइन्।

‘हाम्रो बारेमा पनि कथा लेख्नुस्,’ उनले भनिन्, ‘२५–३० वटा जेन–जी समूह छन्, एउटाले एउटा काम गर भन्छ, अर्कोले अर्को। मुलुक बंगलादेश नहोस् भन्ने सुरमै हामी छौँ।’

सबैतिरबाट आलोचना र दबाब आउँदा पनि सरकारले धैर्यधारण गरेर काम गरिरहेको प्रधानमन्त्री कार्कीको भनाइ छ। ‘राजनीतिक दलले पनि गाली गर्छन्, जेन–जीले पनि आजै छोड, भोलि छोड भन्छन्,’ उनले भनिन्, ‘छोड्यौं भने पनि फेरि पालो त दिएको थियो नि भनेर प्रश्न उठाइन्छ। हामी त पेण्डुलम जस्तो भयौँ।’

उनले सबै चुनौतीका बाबजुद सरकार धेरै धैर्य र मेहनतका साथ काम गरिरहेको भन्दै देशलाई अस्थिरतामा धकेल्ने प्रयासप्रति सचेत रहन आग्रह गरिन्।