नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार काठमाडौंको धुम्बाराहीमा पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीभन्दा तलको पदमा लड्न नमिल्ने र त्यसभन्दा माथिल्लो पदका लागि आफू अझै तयार नभइसकेको स्पष्ट पारे।
‘१४ औँ महाधिवेशनमा म महामन्त्री लडेको थिएँ तर सफल हुन सकिनँ,’ पौडेलले भने, ‘अहिले त्योभन्दा तलको पदमा लड्न मिल्दैन र माथिल्लो पदमा जान आवश्यक परिस्थिति बनेको छैन।’ उनले कुन समूह वा धारबाट महामन्त्रीमा प्रतिस्पर्धा गर्ने भन्नेबारे भने खुलाएनन्।
पौडेलले पार्टी महाधिवेशनको मिति समय अभाव देखाएर धकेल्ने प्रयास भइरहेको आरोप समेत लगाए। ‘अहिले समय छैन भनेर अधिवेशन लम्ब्याउने प्रपञ्च भइरहेको छ, यसको मुख्य जिम्मेवारी नेतृत्वकै हो,’ उनले भने, ‘धेरै चुनौती थपिएको अवस्थामा अधिवेशनलाई अन्योलमा राख्न मिल्दैन।’
उनले निर्वाचनअघि नै महाधिवेशन गरेर नेतृत्व परिवर्तन नगरे कांग्रेसले ठूलो हार बेहोर्नुपर्ने चेतावनी पनि दिए। नियमित महाधिवेशन समयमा हुन नसके विशेष महाधिवेशनको अवस्था सिर्जना हुने उनको धारणा छ।
पौडेलका अनुसार नियमित अधिवेशनमा ढिलाइ हुँदै जाँदा पार्टीभित्र विशेष अधिवेशनको माहोल बलियो बन्दै गएको छ, जुन कांग्रेसका लागि थप चुनौतीपूर्ण अवस्था हुनसक्छ।







प्रतिक्रिया