श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिमा सक्रियता बढाएपछि तीव्र कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै साम्पाङले जेनजीलाई उक्साएर मृत्युको अवस्थामा पुर्याएको आरोप लगाउँदै त्यस्ता व्यक्तिहरू नै चुनावमा आउन लागेको टिप्पणी गरेका हुन्।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “जेनजीलाई उक्साएर मर्न लगाउने, जेनजीको अन्त्येष्टिमा समेत ननिस्किएर लुकेर गेम खेल्ने गेमर पनि अब चुनावमा आउने रहेछन्,” भन्दै बालेनप्रति व्यङ्ग्य गरेका छन्।
जेनजी आन्दोलनअघि नजिकको सम्बन्ध रहेका बालेन शाह र हर्क साम्पाङबीच जेनजी आन्दोलनपछि सम्बन्ध बिग्रिएको बताइन्छ। आन्दोलनका क्रममा आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरेको भन्दै साम्पाङले बालेनमाथि लगातार सामाजिक सञ्जालमार्फत आक्रमण गर्दै आएका छन्।
यसैबीच, फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक सूची बुझाउने मिति पुष १३ र १४ नजिकिँदै जाँदा बालेन शाहले राजनीतिक सक्रियता तीव्र बनाएका छन्। यसले नेपाली राजनीति वृत्तमा तरंग ल्याएको छ।
बालेन शाहले बुधबार र आज विभिन्न राजनीतिक दलका नेताहरू, अभियन्ता तथा जेनजी आन्दोलनका नेताहरूसँग छलफल गर्दै सक्रिय राजनीतिमा होमिने तयारी गरिरहेको स्रोतहरूको भनाइ छ।







प्रतिक्रिया