१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, बंगलादेशको राजनीतिमा नयाँ हलचल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बंगलादेशी नेशनलिस्ट पार्टी (बीएनपी) का शीर्ष नेता तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन्। ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उनको स्वागतका लागि करिब एक लाख बीएनपी कार्यकर्ता भेला भएका थिए।

गिरफ्तारीबाट बच्न तारिक रहमान सन् २००८ मा लन्डन गएका थिए। तत्कालीन शेख हसिनाको सरकारका बेला उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दा दायर भएका थिए। लामो समय निर्वासनमा रहेका रहमानको स्वदेश आगमनलाई बंगलादेशको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

बंगलादेशमा आगामी वर्ष फेब्रुअरी १२ मा आम निर्वाचन हुँदैछ। यसबीच शेख हसिनाको पार्टी अवामी लिग प्रतिबन्धित अवस्थामा रहेकाले बीएनपीलाई निर्वाचन जित्ने सबैभन्दा बलियो दावेदार मानिएको छ। बीएनपी अध्यक्ष खालिदा जिया ८० वर्षकी भइसकेकी र गम्भीर रूपमा बिरामी रहेकाले तारिक रहमान आगामी प्रधानमन्त्रीका सम्भावित उम्मेदवार हुन सक्ने आँकलन गरिएको छ।

स्वदेश फर्किएपछि तारिक रहमानले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गरेका छन्। सिलहटबाट फेसबुकमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘अन्ततः सिलहटमा, बंगलादेशको भूमिमा।’ अर्को पोस्टमा उनले ‘लामो ६,३१४ दिनपछि, बंगलादेशको आकाशमा!’ भनेर उल्लेख गरेका छन्।

तारिकको स्वागतका लागि देशभरबाट समर्थकहरू ढाकाको जुलाई ३६ एक्सप्रेसवे आसपास भेला भएका थिए। धेरै समर्थक रातभर यात्रा गरेर आएका र खुला आकाशमै रात बिताएका थिए। बीएनपीले तारिक रहमान बोगुरा–६ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। यही क्षेत्रबाट यसअघि उनकी आमा खालिदा जिया सांसद निर्वाचित भएकी थिइन्।

बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरसहित वरिष्ठ नेताहरूले विमानस्थलको भिआइपी लाउन्जमा तारिक रहमानलाई अँगालो हाल्दै र फूल गुच्छा दिएर स्वागत गरेका थिए। १७ वर्षपछि भएको यो स्वदेश फिर्तीले बंगलादेशी राजनीतिमा नयाँ शक्ति सन्तुलन र सम्भावित परिवर्तनको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।