विदेशमा ऐतिहासिक शो पाएको नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर १’ आजदेखि घरेलु बक्स अफिसमा दोस्रो सातामा प्रवेश गरेको छ। गत बिहीबार रिलिज भएको यो चलचित्रले राम्रो समीक्षात्मक प्रतिक्रिया पाएको भए पनि नेपालभर पर्याप्त शो नपाएको दर्शक र निर्माण टिम दुवैको प्रमुख गुनासो बनेको छ। दोस्रो सातामा पुगे पनि हलहरूले धेरै शो नदिँदा दर्शकले “सिनेमा हेर्न पाइएन, शो बढाइदिनुस्” भन्दै सामाजिक सञ्जालमा निर्माण टिमलाई मेन्सन गरिरहेका छन्। पाएका थोरै शोहरूमा भने अकुपेन्सी मजबूत देखिएको छ।
पब्लिक रिभ्यूदेखि समीक्षकको मूल्यांकनसम्म सकारात्मक भएपछि निर्माण पक्षले ‘चलचित्र राम्रो छ भने पनि पर्याप्त शो नपाइनु नयाँ सिर्जनात्मक प्रयासका लागि चुनौती बन्ने’ प्रतिक्रिया दिएको छ। सुशान्त गौतम निर्देशित यस चलचित्रमा मदन थापा क्रिएटिभ निर्देशक तथा मुकेश खनाल लेखक रहेका छन्। कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्।
चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। जीवन शाक्य लाइन प्रोड्युसर, शरद महतो डीओपी, मनोज श्रेष्ठ भिएफएक्स, जुनिम गहतराज रंग संयोजन तथा मदन घिमिरे सम्पादकको रूपमा काम गरेका छन्।







प्रतिक्रिया