गोवाको नाइट क्लब आगलागीमा ज्यान गुमाएका पाँचै नेपालीको, शव नेपाल ल्याउने प्रक्रिया सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतको गोवास्थित नाइट क्लबमा गएको शनिबार मध्यराति लागेको भीषण आगलागीमा ज्यान गुमाएका पाँचै जना नेपालीको पहिचान खुलेको छ। यस दुर्घटनामा नेपालीसहित २५ जनाको मृत्यु भएको थियो।

गोवा प्रहरीका अनुसार मृतक नेपालीहरूमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर (विवेक) कटुवाल, झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा, तथा डडेलधुराका मनोज जोरा रहेका छन्।

उनीहरूको शव स्वदेश ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासले गोवा सरकारसँग समन्वय गर्दै शव नेपाल पठाउने प्रक्रिया अघि बढाइरहेको छ। चुर्णबहादुर पुनको शव एयर एम्बुलेन्समार्फत गोवाबाट लखनउ, र त्यहाँबाट गाडीमा दाङ पुर्‍याउने तयारी भइरहेको छ। बाँकी चार जनाको शव पनि घरसम्म पुर्‍याउने पहल भइरहेको छ।

शनिबार राति नाइट क्लबमा आगलागी सुरु हुँदा ग्यास सिलिन्डर विस्फोट समेत भएको थियो, जसले आगो झनै भयावह बनाएको प्रहरीको भनाइ छ। साँघुरा बाटोका कारण दमकल समयमै पुग्न नसक्नु र पर्याप्त सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढेको अधिकारीहरू बताउँछन्। धेरैजसो व्यक्तिहरू भुइँतला र भान्सापट्टि थुनिएर ज्यान गुमाएका थिए।

प्रारम्भिक अनुसन्धानले क्लबले सुरक्षाका आवश्यक मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ। गोवा प्रहरीले क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ भने मालिक सौरभ लुथरा र गौरव लुथरा विरुद्ध मुद्दा दर्ता गरिएको छ। नियम विपरीत अनुमति दिएको आरोपमा स्थानीय सरकारका तीन वरिष्ठ अधिकारी निलम्बनमा परेका छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई ५ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।