शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा क्षेत्रका चुनौती र सुधारका उपाय खोज्न थालेका छन्। उनले बुधबार सोनोठीमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा पुगेर कर्मचारीसँग प्रत्यक्ष छलफल गरे।
केन्द्रका कर्मचारीहरूले मन्त्री पुनलाई शिक्षाको ११ वटा प्रमुख समस्याबारे ब्रिफिङ दिए — जसमा २० हजार बढी रिक्त दरबन्दी, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, विद्यार्थी घट्दै गएका विद्यालयहरूको व्यवस्थापन, र शिक्षक–कर्मचारीको ग्रेड तथा भत्तासम्बन्धी चुनौती प्रमुख थिए। हाल देशभर २७ हजार २९८ सामुदायिक विद्यालय छन्, तर तीमध्ये १५ हजार विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ।
मन्त्री पुनले सुधारका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिँदै लर्निङ पोर्टललाई प्रभावकारी र इन्टर्याक्टिभ बनाउने सुझाव दिए। उनले भने, “इ–लर्निङमा कन्टेन्ट नै मुख्य कुरा हो। स्रोत खोजेर यसलाई एक्टिभ बनाउनुहोस्। बच्चा आफैं मोबाइल चलाएर सिक्ने वातावरण बनाउनुहोस्।”
विद्यालय मर्जबारे मन्त्री पुनले जनताको चित्त बुझ्ने ढंगले मात्र एकीकरण गर्नुपर्ने बताए। उनले आवासीय विद्यालयलाई विकल्पका रूपमा अघि सार्दै भने, “बस चलाएर मर्ज गर्ने प्रणाली टिकाउ हुँदैन। आवासीय मोडेल व्यावहारिक हुन सक्छ।”
त्यस्तै, उनले प्रधानाध्यापक नियुक्तिमा कडा मापदण्ड बनाउन निर्देशन दिए। उनका अनुसार, “प्रअ राम्रो भए विद्यालय राम्रो हुन्छ, त्यसैले नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्राथमिक हुनुपर्छ।”
मन्त्री पुनले विद्यार्थीको सिकाइ नतिजा कमजोर हुनु र शिक्षकका छोराछोरी निजी विद्यालयमा पढ्नु मुख्य चिन्ता भएको बताए। उनले शिक्षामा भएको लगानीको परिणाम देखिन नसक्नु गम्भीर समस्या भएको उल्लेख गरे।
पाठ्यक्रम विकास केन्द्रमा पुगेर मन्त्री पुनले पाठ्यक्रमलाई समय र समाजको आवश्यकताअनुसार अद्यावधिक गर्न निर्देशन दिए। “अबको निरक्षरता भनेको डिजिटल निरक्षरता हो,” भन्दै उनले कम्प्युटर र नैतिक शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिए।
यसअघि बिहान मन्त्री पुन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) पुगेका थिए। उनले नास्टका अधिकारीहरूसँग संस्थाका समस्या र समाधानबारे छलफल गर्दै, “समस्या मात्र होइन, समाधानसहितको योजना दिनुहोस्,” निर्देशन दिएका थिए।
सचिव चुडामणि पौडेले मन्त्री पुनको पहललाई समर्थन गर्दै भने, “मन्त्रीज्यूले आँट गर्न सके यो गोल्डेन चान्स हो।”
यो सक्रिय भेटघाट र छलफलका माध्यमबाट मन्त्री पुनले शिक्षा क्षेत्रमा व्यवहारिक सुधार र प्रविधिक रूपान्तरणको सुरुवात गरेको संकेत दिएका छन्।







प्रतिक्रिया