मध्य प्रदेशमा विषाक्त ‘कोल्ड्रिफ’ सिरपले २० बालबालिकाको मृत्यु, स्रसेन फार्माका मालिक रंगनाथन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली — तमिलनाडुस्थित औषधि कम्पनी स्रसेन फार्माले उत्पादन गरेको विषाक्त खोकीको झोल औषधि ‘कोल्ड्रिफ’ सेवनका कारण भारतको मध्य प्रदेशमा कम्तीमा २० बालबालिकाको मृत्यु भइसकेको छ।

मध्य प्रदेश प्रहरीले घटनापछि चेन्नईबाट कम्पनीका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको छ। यस विषाक्त सिरपका कारण विभिन्न राज्यहरूमा बालबालिकाको मृत्युको रिपोर्ट आएपछि स्वास्थ्य र नियामक प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ।

प्रहरीका अनुसार, कोल्ड्रिफ सिरपमा मिसावट पुष्टि भएको छ। यो सिरप मध्य प्रदेशमा व्यापक रूपमा वितरण गरिएको थियो र सेवन गरेपछि धेरै बालबालिकाले गम्भीर स्वास्थ्य समस्या भोगेका थिए। छिन्दवाडाका प्रहरी अधीक्षक अजय पाण्डेका अनुसार रंगनाथनलाई हिजो राति पक्राउ गरिएको हो। उनलाई चेन्नईको अदालतमा पेश गरी ट्रान्जिट रिमान्ड पाएपछि छिन्दवाडा ल्याइने छ।

रंगनाथनको हिरासतपछि, प्रहरी र स्वास्थ्य विभागले स्रसेन फार्मा विरुद्ध अनुसन्धान तीव्र पारेको छ। प्रारम्भिक अनुसन्धानले देखाएको छ कि सिरप उत्पादनमा गुणस्तर मापदण्डको बेवास्ता गरिएको थियो, जसले घातक उत्पादन बजारमा पुग्ने स्थिति सिर्जना गर्यो। मध्य प्रदेश प्रहरीले चेन्नईस्थित कम्पनीको कार्यालयमा छापा मारेर धेरै कागजातहरू जफत गरेको छ।

अधिकारीहरूले थप गिरफ्तारीको सम्भावना रहेको बताएका छन्। सिरपको वितरण सञ्जाल र बेच्ने फार्मेसीहरूमाथि पनि अनुसन्धान जारी छ। स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई कोल्ड्रिफ सिरपको प्रयोग तुरुन्तै बन्द गर्न र आफ्ना बच्चाहरूको लागि तत्काल चिकित्सा सहायता खोज्न चेतावनी दिएका छन्।